२०८३ असार २६ गते, शुक्रबार १२:४७

ठोरीमा भारतीय सवारीसाधनलाई ‘अस्थाई पास’, संसदमा कांग्रेसको आवाजपछि खटाइयो कर्मचारी

काठमाडौं –

पर्साको ठोरीमा भारतीय सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय प्रतिनिधि सभा बैठकमा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ ।

नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभाको बैठकमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाएकी थिइन् । 

उनले ठोरीमा रहेको छोटी भन्सार कार्यालयको भवनमा कर्मचारी व्यवस्थापन गरेर पर्यटकका सवारीसाधनलाई भन्सार रसिद काटेरै सहज आवागमन सुनिश्चित गर्नुको साटो उल्टै पर्यटकका सवारीसाधन फर्काइएको भन्दै तत्काल कर्मचारी राखेर भन्सार कार्यालय सञ्चालन गर्न र भन्सार गरेरै पर्यटकका सवारीसाधन आउने वातावरण बनाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

त्यसलगत्तै वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीमा रहेको छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको हो ।

वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी उदयसिंह विष्टले ठोरी छोटी भन्सारमा एक जना सुब्बा तहका कर्मचारी र अर्का एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी खटाइएको जानकारी दिए ।

‘ठोरीको छोटी भन्सारमा सुब्बा र कार्यालय सहयोगी गरी तत्कालका लागि दुई जना कर्मचारी खटाइएको छ, त्यहीबाट भारतीय सवारीसाधनलाई निःशुल्क रूपमा नै अस्थायी पास उपलब्ध गराइने व्यवस्था भएको छ,’ भन्सार अधिकृत विष्टले भने ।

उनका अनुसार ठोरीको छोटी भन्सार कार्यालयबाट नै भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास उपलब्ध गराउन सुरु गरिएको छ । पास वाहक सवारीसाधन ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन सक्ने छन् ।

‘हालका लागि ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन पाउने गरेर पास दिइएको छ, बाँकी विषयमा मन्त्रालयबाट केही निर्णय होला, हामीले पत्र पठाएर मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ विष्टले अगाडि भने।

असार १९ गतेदेखि ठोरीमा सशस्त्र प्रहरीले ‘माथिको आदेश भन्दै भारतीय पर्यटकहरूका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सो अवस्थापछि ठोरीका स्थानीय पर्यटन व्यवसायीहरूले विरोध जनाएका थिए भने उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई समेत निर्णय सच्याउन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

पछिल्लो समय ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । ठोरीमा दर्जनौँ होटेल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छ भने सयौँ व्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन् ।

ठोरीमा अहिले दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरू आउने गरेका छन् भने पछिल्लो समय यहाँको पर्यटन व्यवसाय चलायमान हुँदै गइरहेको छ ।तर भारतीय सवारीसाधन आवागमनमा अवरोध हुँदा यहाँको पर्यटकीय गतिविधि ठप्प बनेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस