२०८३ श्रावण ३० गते, शनिबार ०९:४६

इन्डोनेसियामा शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको त्रासले हजारौँ भागे

काठमाडौं –

इन्डोनेसियाको फ्लोरेस टापु आसपास शनिबार बिहान गएको शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्पले ठूलो त्रास फैलाएको छ। भूकम्पलगत्तै सुनामीको चेतावनी जारी भएपछि तटीय क्षेत्रका बासिन्दा ज्यान जोगाउन घर छाडेर अग्लो भूभागतर्फ भागेका छन्।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको म्बाय-नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा र गहिराइ करिब १५ किलोमिटर रहेको थियो।

भूकम्पको धक्कासँगै तटीय बस्तीमा भागदौड मच्चिएको थियो। नागेकेओ, माउमेरेलगायत क्षेत्रका बासिन्दा घर तथा भवन छाडेर सुरक्षित स्थानतर्फ पुगेका थिए। केही क्षेत्रमा समुद्रको पानी पछाडि हटेको देखिएपछि स्थानीयमा सुनामी आउने त्रास झनै बढेको थियो।

बीएमकेजीले भूकम्पपछि पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसीलगायतका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। प्रारम्भिक चेतावनीपछि स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

भूकम्पका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। माउमेरेलगायत क्षेत्रमा भवन तथा संरचनामा क्षति पुगेको छ। अस्पतालहरूले समेत बिरामीलाई भवनबाहिर निकालेर खुला स्थानमा उपचारको व्यवस्था गरेका थिए। भूकम्पपछि लगातार परकम्प महसुस भएको जनाइएको छ।

भूकम्पपछि समुद्रको सतहमा उल्लेख्य परिवर्तन नदेखिएपछि सुनामीको चेतावनी करिब तीन घण्टापछि हटाइएको थियो। बीएमकेजीका अनुसार विभिन्न स्थानमा सुनामीका छाल रेकर्ड भए पनि ती एक मिटरभन्दा कम थिए; माउरोले क्षेत्रमा ०.९४ मिटरको छाल मापन गरिएको थियो।

सुनामीको चेतावनी हटाइए पनि परकम्पको जोखिम भने कायमै रहेको अधिकारीहरूले बताएका छन्। उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी छ।

फ्लोरेस क्षेत्र भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी गतिविधि बारम्बार हुने गर्छ। (AP News)

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस