२०८३ भाद्र १ गते, सोमबार ११:३५

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।

सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नेछन् ।

मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन् ।

मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेशसभामा कुल ८३ जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेशसभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस