२०८३ भाद्र १ गते, सोमबार १२:१६

खानतलासीको विरोधमा मोरङ कारागारका कैदीद्वारा प्रदर्शन

विराटनगर –

जिल्ला कारागार मोरङका कैदीबन्दीले कारागारभित्र प्रहरीले खानतलासी सुरु गरेपछि विरोध प्रदर्शन गरेका छन्। सोमबार बिहान प्रहरीले कारागारमा खानतलासी सुरु गरेपछि कैदीबन्दीहरू छतमा बसेर प्रदर्शनमा उत्रिएका हुन्।

विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो। खानतलासीका क्रममा कैदीबन्दीले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको हो।

घटनापछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसहितको सुरक्षा टोली कारागार परिसरमा पुगेको छ।

प्रशासनले कारागारको खानतलासीसँगै विवादास्पद छवि भएका अभिषेक गिरीका सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। सोही क्रममा प्रहरीले खानतलासी सुरु गरेपछि कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले विरोध गर्दै प्रहरीलाई अवरोध गरेका हुन्।

कैदीबन्दीहरूले प्रशासनले पटक-पटक आफूहरूलाई अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन्। घटनाबारे प्रशासन र सुरक्षा निकायले आवश्यक छलफल तथा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस