२०८३ भाद्र १ गते, सोमबार १२:२२

बिहारको अशोकधाम मन्दिरमा भीषण भागदौड, सात तीर्थयात्रीको मृत्यु

काठमाडौं –

भारतको बिहारस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा दर्शनका लागि जम्मा भएको भीड अनियन्त्रित हुँदा भएको भागदौडमा कम्तीमा सातजनाको मृत्यु भएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन्।

बिहारको लखिसरायस्थित अशोकधाम मन्दिरमा सोमबार बिहान दर्शनका लागि ठूलो संख्यामा श्रद्धालु जम्मा भएका बेला अचानक भागदौड मच्चिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । घटनापछि मन्दिर परिसरमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको थियो।

लखिसरायका सब–डिभिजनल प्रहरी अधिकृत शिवम कुमारले सोमबार बिहान भएको घटनामा हालसम्म सातजनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार घाइते ६ जनालाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार मन्दिरमा दर्शनका लागि महिलाहरू लाममा बसेका थिए। त्यही क्रममा करिब १०–१२ जना महिला जबर्जस्ती लाममा प्रवेश गर्न खोजेपछि धकेलाधकेल सुरु भएको थियो। त्यसपछि भीड अनियन्त्रित हुँदा करिब २०–२५ जना महिला एकअर्कामाथि खसेका थिए।

भीड व्यवस्थापनमा कमजोरी र दर्शनार्थीको अत्यधिक चापका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि प्रहरीले मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

मन्दिरजस्तो धार्मिक तथा संवेदनशील स्थलमा ठूलो संख्यामा श्रद्धालु भेला हुने अवस्थामा पर्याप्त सुरक्षा, व्यवस्थित प्रवेश–निकास तथा भीड नियन्त्रणको व्यवस्था नहुँदा यस्ता दुर्घटना दोहोरिन सक्ने भन्दै घटनाले धार्मिक स्थलमा भीड व्यवस्थापनको तयारीमाथि समेत गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस