२०८३ भाद्र २ गते, मंगलवार १७:३९

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा सदस्य बन्न चाहनुहुन्छ ? रास्वपाले खुलायो आवेदन

काठमाडौं –

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा उम्मेदवार बन्न चाहनेहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवेदन खुला गरेको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको हो।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गर्दै पहिलो चरणमा गाउँपालिकाका विभिन्न पदका आकांक्षीबाट आवेदन मागिएको जानकारी दिए।

रास्वपाका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको मोबाइल एप ‘आरएसपी’मार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिएका आकांक्षीको राजनीतिक योग्यता र क्षमता मात्र नभई कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थासमेत मूल्यांकन गरिने पार्टीले जनाएको छ। उम्मेदवार छनोटअघि सम्भावित विवाद, कानुनी जटिलता तथा अन्य जोखिम पहिचान गर्ने उद्देश्यले यस्तो प्रक्रिया अघि सारिएको हो।

सभापति लामिछानेले योग्य र सक्षम नेतृत्व छनोट गर्न मापदण्डमा आधारित परीक्षण आवश्यक रहेको बताए। उनका अनुसार ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवारको समग्र पृष्ठभूमि अध्ययन गरी पार्टीका लागि उपयुक्त नेतृत्व छनोट गर्न सहयोग पुग्नेछ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई योग्यतामा आधारित बनाउन ‘क्यान्डिडेट क्लब’सँगै ‘लिडरसिप एकेडेमी’को अवधारणासमेत अघि सारेको जनाएको छ।

पार्टीले पहिलो चरणमा गाउँपालिकाबाट प्रक्रिया सुरु गरेको हो। आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिकाअन्तर्गतका पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिले तोकिएको प्रक्रियामार्फत आवेदन दिन सक्ने रास्वपाले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस