काठमाडौं –
नेपाल र भारतबीचको खुला सीमाबाट उत्पन्न मानव बेचबिखन तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रवेश–प्रस्थानमा भिसा प्रणाली लागू गरी सीमा व्यवस्थित गर्नुपर्ने प्रस्ताव प्रतिनिधिसभामा उठेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल र भारतबीचको खुला सीमा अन्त्य गरी दुवै देशका नागरिकको आवतजावत व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन्।
साम्पाङले भारत जाने नेपाली र नेपाल आउने भारतीय नागरिकको व्यवस्थित अभिलेख राख्न भिसा प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार खुला सीमाका कारण कति नेपाली भारतमा गएर बसेका छन् र कति भारतीय नेपालमा आएर बसेका छन् भन्ने यकिन तथ्यांक राख्नसमेत कठिन भइरहेको छ।
उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ, सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्।’
खुला सीमाको दुरुपयोगबाट मानव बेचबिखनलगायत विभिन्न आपराधिक गतिविधि बढिरहेको दाबी गर्दै साम्पाङले सीमा व्यवस्थापनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।
उनले नेपाल–भारत सीमामा आवतजावतको अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै खुला सीमालाई यथावत् राख्नेभन्दा सुरक्षा र व्यवस्थित आवागमनका लागि भिसा प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारे।
नेपाल र भारतबीच ऐतिहासिक रूपमा खुला आवागमनको व्यवस्था रहँदै आएको भए पनि पछिल्लो समय सीमाबाट हुने अवैध गतिविधि, मानव बेचबिखन तथा सुरक्षा चुनौतीलाई लिएर बहस हुँदै आएको छ। साम्पाङको प्रस्तावले भने खुला सीमा व्यवस्थापनको विषयलाई प्रतिनिधिसभाको बहसमा थप प्रमुखताका साथ प्रवेश गराएको छ।












