२०८३ आश्विन १४ गते, बुधबार १३:२९

डा. मोनिका यादव र सूर्य हस्पिटलको लापरबाही विवाद उत्कर्षमा: “लासको व्यापार” भन्दै दिएको अभिव्यक्तिले बढायो आक्रोश

वीरगन्ज —

वीरगन्जस्थित सूर्य हस्पिटलकी वरिष्ठ चिकित्सक डा. मोनिका यादव सिंह विवादास्पद अभिव्यक्ति र उपचारका क्रममा भएको गम्भीर लापरबाहीका कारण विवादमा तानिएकी छिन्। गत बिहीबार रौतहटको जमुनामाइ गाउँपालिका–४ सर्वठा निवासी गुञ्जा सिंहको प्रसूति तथा उपचारका क्रममा गलत औषधिको प्रयोगले दुवै मिर्गौला खराब भएको भन्दै पीडित परिवारले अस्पताल परिसरमा टायर बालेर प्रदर्शन गरेका थिए।

घटनापछि अस्पताल प्रशासन र डा. मोनिका यादव सिंहले पत्रकार सम्मेलन गरी आफ्नो स्पष्टीकरण राखेका छन्। तर, डा. यादव सिंहले दिएको विवादास्पद अभिव्यक्तिले विवादलाई थप चर्काएको छ।

डा. मोनिका यादव सिंहको दाबी र स्पष्टीकरण

पत्रकार सम्मेलनमा डा. यादव सिंहले वीरगन्जमा कार्यरत डाक्टरहरूलाई निरुत्साहित गर्ने र “लासको व्यापार” बन्द गर्न भन्दै पीडित परिवारमाथि नै गम्भीर आरोप लगाइन्। उनले भनिन्, “आमा हाम्रो रेगुलर चेकअपमा थिइन्, केही हप्ता पहिला नै हामीले उनको रगत लगायतको जाँच गरेका थियौँ। त्यस समय यदि दुई मिनेट पनि अपरेसनमा ढिलो भएको भए बच्चा बाँच्दैनथ्यो। पेसेन्टको स्वास्थ्य अवस्थाअनुसार उनको किड्नी जसरी पनि फेल हुने नै थियो। अपरेसन गर्नुपूर्व रगत चेक गर्नु नै पर्छ भन्ने कुनै किताबमा लेखिएको छ र?”

साथै, वर्षौँको अभ्यासले बिरामीलाई कति मात्रामा रगत वा अन्य उपचार चाहिने भन्ने कुरा थाहा हुने दाबी गर्दै उनले आफ्नो टिमबाट कुनै पनि सर्जिकल वा गाइनेकोलोजिकल गल्ती नभएको ठोकुवा गरिन्। अस्पताललाई बदनाम गर्न र पैसाका लागि यस्तो गरिएको आरोप लगाउँदै उनले मेडिकल काउन्सिलको जुनसुकै छानबिन र सजाय भोग्न तयार रहेको स्पष्ट पारिन्।

पीडित परिवारको कडा प्रतिवाद

डा. यादव सिंहको स्पष्टीकरण बाहिरिएपछि पीडितका आफन्त आदित्य सिंहले सामाजिक सञ्जालमार्फत कडा विरोध जनाएका छन्। उनले भनेका छन्, “हामी कसैसँग एक रुपैयाँ पनि मागिरहेका छैनौँ। उहाँका दाजुभाइ तथा दिदीबहिनीहरू अस्ट्रेलियाका नागरिक हुन् र हाम्रो परिवार आर्थिक रूपमा सक्षम छ। यो पैसाको लागि होइन, न्याय र सत्यका लागि हो।”

अपरेसनअघि बिरामीको तत्काल रगत परीक्षण नगरिएको र स्पष्टीकरण माग्दा “मेरो १५ वर्षको अनुभवका आधारमा गरेको हुँ” भनिएकोमा आपत्ति जनाउँदै उनले अनुभवले जवाफदेहिताको स्थान लिन नसक्ने बताए। परिवारको उचित सहमतिबिना दुवै पटक थप प्रक्रिया/अपरेसन गरिएको र आवश्यक रगतको समेत प्रबन्ध नगरिएको उनका आरोप छन्। वर्तमानमा नवजात शिशु एनआियूसीमा र आमाको दुवै मिर्गौलाले काम गर्न छोडेको अवस्थामा रहेको भन्दै उनले न्यायका लागि प्रधानमन्त्रीसमक्ष जाने चेतावनी दिएका छन्।

यसैगरी, नेपाली कांग्रेस पर्साका नेता तथा पीडितका भिनाजु नवीन सिंहले पनि पैसाको कुरा गरिएको आरोप पूर्ण रूपमा असत्य रहेको बताएका छन्। भरतपुर अस्पतालका चिकित्सकहरूले वीरगन्जमा उपचारको क्रममा किड्नी बिग्रिएको र गलत औषधि प्रयोग तथा चिकित्सकको लापरबाही भएको पुष्टि गरेको बताउँदै उनले आजैबाट कडा आन्दोलनमा जाने घोषणा गरेका छन्।

चिकित्सकको गैरजिम्मेवार अभिव्यक्ति र लापरबाहीका कारण वीरगन्जको स्वास्थ्य क्षेत्रमा अहिले तीव्र आक्रोश फैलिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस