२०८३ आश्विन १४ गते, बुधबार १४:१४

वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित

वीरगन्ज-.

वीरगन्ज महानगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उत्पन्न विवाद टुङ्ग्याउन आह्वान गरिएको विशेष नगरसभा नेपाली कांग्रेसले बहिष्कार गरेको छ। वीरगन्जको आदर्शनगरस्थित होटल पुजनमा सञ्चालन भइरहेको २१औं नगरसभा (विशेष नगरसभा) मा नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख लगायतका वडा सदस्यहरूले पार्टीको निर्देशन अनुसार सहभागिता जनाएका छैनन्।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, पर्साले असोज १३ गते मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले आह्वान गरेको उक्त विशेष नगर सभामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सहभागी नहुन कूटनीतिक रूपमा ह्वीप जारी गरेको थियो। कांग्रेस पर्साका सचिव दिनेश कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा पार्टीतर्फबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई कुनै पनि हालतमा उक्त सभामा सहभागी नहुन निर्देशन दिइएको थियो।

सोही पार्टीगत निर्णय र निर्देशन अनुसार आज आयोजित विशेष नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलमसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सदस्यहरूको उपस्थिति समाचार तयार पार्दासम्म देखिएको छैन। बजेट कार्यान्वयनको विषयलाई लिएर देखिएको विवादका बीच प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले नै सभा बहिष्कार गरेपछि वीरगन्ज महानगरको राजनीति थप पेचिलो बनेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस