२०८३ आश्विन १४ गते, बुधबार २१:४६

वीरगन्ज महानगरद्वारा ४ अर्ब २१ करोड ३४ लाखको संशोधित बजेट पारित: पूर्वाधार, शिक्षा, स्वास्थ्य र सौन्दर्यीकरणलाई प्राथमिकता

वीरगन्ज —

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट ल्याएको छ। बुधबार सम्पन्न नगर सभाको २१औँ विशेष अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गर्नुभएको उक्त संशोधित बजेट तथा कार्यक्रमलाई सभाले पारित गरेको हो।

महानगरले यसअघि चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। आन्तरिक राजस्व परिचालनमा आएको संकुचन तथा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट अपेक्षाअनुसार स्रोत प्राप्त हुन नसकेपछि बजेटको आकार घटाएर संशोधन गरिएको महानगरले जनाएको छ।

बजेटको शीर्षकगत विनियोजन

पारित संशोधित बजेटमध्ये सबैभन्दा बढी हिस्सा चालुतर्फ राखिएको छ:

  • चालुतर्फ: २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ
  • पुँजीगततर्फ: १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ
  • वित्तीय व्यवस्थातर्फ: ७ करोड रुपैयाँ

मुख्य प्राथमिकता र विकासका योजनाहरू

मेयर राजेशमान सिंहद्वारा प्रस्तुत संशोधित बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, वातावरण तथा सहरी सौन्दर्यीकरणलाई विशेष प्राथमिकता दिइएको छ:

नगर बस सेवा: वीरगन्ज महानगर क्षेत्रका नागरिकलाई नियमित, सुरक्षित, सहज र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा सञ्चालन गर्ने योजना पनि संशोधित बजेटमा समेटिएको छ।

बीपी उद्यान निर्माण: महानगरको मुख्य केन्द्र घण्टाघर नजिक रहेको बीपी उद्यानलाई आधुनिक, आकर्षक, हरियालीयुक्त तथा बहुउपयोगी सहरी उद्यानका रूपमा विकास गरी चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याइने भएको छ। जसमा हिँड्ने बाटो, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र र हरियाली विस्तार गरिनेछ।

उज्यालो वीरगञ्ज अभियान: सहरलाई रात्रिको समयमा सुरक्षित र आकर्षक बनाउन मुख्य सडक, चोक तथा भित्री बस्तीहरूमा स्मार्ट एलइडी तथा हाइमास्ट बत्ती जडानलाई तीव्रता दिइनेछ। साथै, नियमित अनुगमन तथा तत्काल मर्मतका लागि द्रुत मर्मत संयन्त्र परिचालन गरिनेछ।

सहरी सौन्दर्यीकरण र वातावरण: वीरगञ्जलाई स्वच्छ र हरित सहर बनाउन सडकको मध्यभागमा हरियाली प्रवर्द्धन, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गरिनेछ।

शिक्षा र संस्कृति: सार्वजनिक विद्यालयको दरबन्दी संरचनालाई विद्यार्थी संख्यासँग मिलाउने नीति लिइएको छ। त्यसैगरी, भोजपुरी भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि भोजपुरी प्रतिष्ठानलगायत सम्बन्धित संघसंस्थाको सहकार्यमा विशेष कार्यक्रमहरू सञ्चालन हुनेछन्।

स्वास्थ्य र सामाजिक क्षेत्र: आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जन स्थलहरूलाई थप व्यवस्थित बनाइनेछ। साथै, युवाहरूमा बढ्दो कुलत तथा दुर्व्यसन नियन्त्रणका लागि साझेदार संस्थाहरूसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस