वीरगन्ज-
भारतसँग सीमा जोडिएका मधेश प्रदेशका आठवटै जिल्लामा चाडपर्वका बेला हुनसक्ने सम्भावित अपराध, तस्करी तथा दुर्घटना नियन्त्रण गर्दै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म ७ हजार २२९ प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार भारतसँग जोडिएका सीमा नाकामा हुने बढ्दो आवतजावतलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा तस्करी, चोरी तथा अवैध सामानको ओसारपसार नियन्त्रणमा विशेष निगरानी बढाइएको छ।
सुरक्षा योजनाअनुसार धनुषामा सबैभन्दा बढी १ हजार ५९९ प्रहरी परिचालन गरिनेछ। यस्तै, पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी परिचालन हुनेछन्।
चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि १ हजार १२४ ड्युटीअन्तर्गत ५ हजार ४८१ प्रहरी परिचालन गरिनेछ। यसअन्तर्गत जिल्ला रिजर्भ, क्यूआरटी, स्ट्राइकिङ टोली, ट्राफिकसहितको चेकिङ, मोबाइल तथा पैदल गस्ती परिचालन गरिने प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत शंकास्पद स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ र यात्रु सहायता कक्षसमेत सञ्चालन गरिनेछ। सीमा नाकामा चोरी–तस्करी नियन्त्रणका लागि ७३, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ र कर्डन तथा सर्चका लागि १८ ड्युटी तोकिएको छ।
भारत–नेपाल सीमा नाकामा चाडपर्वका बेला मानिसको आवतजावत बढ्ने भएकाले तस्करी तथा अवैध गतिविधि नियन्त्रणलाई सुरक्षा योजनाको प्रमुख प्राथमिकतामा राखिएको प्रवक्ता ढकालले बताए। सीमा क्षेत्रमा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ।
धार्मिक स्थलमा हुने भीडभाडका क्रममा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न विशेष निगरानी गरिनेछ। त्यस्तै, छठका बेला नदी तथा पोखरीका घाटमा डुबेर हुने दुर्घटना र भीड व्यवस्थापन, दसैंमा घर फर्किने तथा तिहारपछि बढ्ने यात्रु आवागमनका कारण हुनसक्ने सडक दुर्घटना र ट्राफिक जाम नियन्त्रणमा समेत सुरक्षा टोली परिचालन गरिनेछ।
प्रहरीले पटका तथा आतिसबाजीबाट हुनसक्ने आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी तथा लुटपाट नियन्त्रणका लागि निगरानी बढाउने जनाएको छ।
त्यस्तै, सुनचाँदी पसल, बैंक तथा बढी नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा बढाइनेछ। देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण रातिको शान्ति–सुरक्षामा चुनौती आउन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि समेत निगरानी गरिनेछ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषधको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रणलाई पनि सुरक्षा योजनामा समेटिएको छ। सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्टलगायत आकस्मिक विपद्को जोखिमलाई समेत प्रहरीले सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
प्रवक्ता ढकालका अनुसार अतिरिक्त जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ। चाडपर्वका क्रममा सम्भावित अपराध तथा सुरक्षा चुनौतीलाई तत्काल नियन्त्रणमा लिन प्रदेशका आठवटै जिल्लामा प्रहरी परिचालन र निगरानी थप कडा बनाइएको उनले बताए।











