२०८३ आश्विन २२ गते, बिहीबार १९:५८

राजेशमान सिंह वीरगन्जका छोरा होइनन् दादा हुन्” – हिन्दूवादी

पर्सा —

वीरगन्जको रानीघाट मठमा आयोजित एक पत्रकार सम्मेलनमा हिन्दूवादी अभियन्ताहरूले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै हिन्दूसम्राट सेनाका उपाध्यक्ष एवं हिन्दूवादी अभियन्ता रञ्जन सिंह राजपुतलाई पावर र पैसाको आडमा बद्नियतपूर्वक फसाइएको गम्भीर आरोप लगाएका छन्।

वीरगन्जको रानीघाट मठमा स्थानीय हिन्दूवादीहरूको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरूले मेयर राजेशमान सिंहले व्यक्तिगत प्रतिशोध र राजनीतिक रिसइबी साँध्न आफ्ना पद र शक्तिको दुरुपयोग गरेको दाबी गरेका छन्।

पत्रकार सम्मेलनमा हिन्दूसम्राट सेनाका पर्सा जिल्ला अध्यक्ष विकास साहले जेन्जी आन्दोलनका क्रममा देशैभरि जनताले अदालतदेखि संसदसम्म जलाएको र सोही क्रममा सर्वसाधारणको उपस्थितिमा मेयर सिंहको घरमा पनि आगलागी भएको घटनालाई राजनीतिक रूपमा मोडेर रञ्जन सिंहलाई फसाइएको बताए। साहले मेयर सिंह वीरगन्जको ‘बेटा’ (छोरा) नभई ‘दादा’ बनेको आरोप लगाउँदै सलाई फ्याक्ट्री, छपकैया तरकारी बजार र गीता मन्दिरको खाली जग्गामा आफ्ना निकटका मान्छेलाई पोस्न वीरगन्जवासीको करको लाखौँ रुपैयाँ दोहन गरेको जिकिर गरे। साथै, रञ्जन सिंहको थुनछेक बहसको दिन सुरुमा इजलास नम्बर ४ परेकोमा मेयर सिंह आफैँ अदालतमा उपस्थित भई चलखेल गरेर सो बहसलाई आफ्नो अनुकूल हुने गरी इजलास नम्बर ९ मा पार्न लगाएको गम्भीर आरोप समेत लगाइएको छ।

त्यस्तै, अर्का हिन्दूवादी अभियन्ता कृष्णा यादवले वीरगन्जमा हिन्दूहरूलाई कमजोर पार्ने विभिन्न षडयन्त्र भइरहेको र विगतको चुनावमा मेयर सिंहलाई सहयोग नगरेकै कारण रञ्जन सिंहलाई यो हालतमा पुर्‍याइएको बताए। आउने दिनमा वीरगन्जका जनताले मेयर सिंहको घमण्ड चकनाचुर पार्ने चेतावनी दिँदै यादवले जेन्जी आन्दोलनपश्चात मेयर सिंहको घर जलाउँदा उनकी पत्नी र छोरा अनिसमान सिंहले पर्सा प्रहरीमा क्षतिपूर्तिको लागि दिएको निवेदन पछि पावर र पैसाको भरमा अन्यत्रै मोडिँदै रञ्जन सिंहलाई पास पार्ने काम भएको स्पष्ट पारे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस