२०८३ आश्विन २३ गते, शुक्रबार १२:१७

बूढानीलकण्ठमा साढे दुईतले घरभित्र सुनको रहस्यमय धन्दा, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

वीरगन्ज –

बाहिरबाट हेर्दा सामान्य साढे दुईतले घर, गेटमा सुरक्षा व्यवस्था र भित्र सीसीटीभीको निगरानी। तर, त्यही घरभित्र चलिरहेको थियो सुन गाल्ने, गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने काम। बूढानीलकण्ठको एउटा भाडाको घरभित्र सञ्चालित यो रहस्यमय गतिविधि प्रहरीले छापा मारेपछि सार्वजनिक भएको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ उक्त घरमा छापा मार्दा करिब २१ किलो सुन र सुन प्रशोधनमा प्रयोग हुने उपकरणहरू फेला पारेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरी टोली घरमा पुग्दा सुन गाल्ने काम भइरहेको थियो। पक्राउ गर्ने क्रममा प्रहरी र उनीहरूबीच केहीबेर धक्कामुक्कीसमेत भएको स्रोतले जनाएको छ।

घरको खानतलासी गर्दा सुन गाल्ने, त्यसको गुणस्तर जाँच्ने र आवश्यकताअनुसार विभिन्न आकारमा ढाल्ने उपकरणहरू बरामद भएका छन्। प्रहरीका अनुसार उनीहरूले ठोस र तरल दुवै स्वरूपमा सुन ल्याएर आवश्यकताअनुसार प्रशोधन गरी आपूर्ति गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुन प्रशोधनका लागि आवश्यक उपकरण, च्यानल गेट र सीसीटीभी जडान गरिएको घरको व्यवस्थाले यो काम सामान्य घरेलु गतिविधि नभई योजनाबद्ध रूपमा सञ्चालन गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ। तर, यसको वास्तविक उद्देश्य र कारोबारको सञ्जालबारे अनुसन्धानले थप तथ्य उजागर गर्न बाँकी छ।

अब प्रश्न उठ्छ, करिब २१ किलो सुन कहाँबाट आयो, कहाँ लैजाने तयारी थियो र यसका वास्तविक सञ्चालक को हुन्?

प्रहरीले बरामद सुन कुन नाकाबाट भित्र्याइएको थियो, कसलाई आपूर्ति गरिन्थ्यो र यसमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। पक्राउ परेका तीन चिनियाँ नागरिक नै यस कारोबारका मुख्य सञ्चालक हुन् वा ठूलो सञ्जालका एउटा कडी मात्र, त्यो पनि अनुसन्धानकै विषय बनेको छ।

बरामद सुनको वास्तविक परिमाण र गुणस्तर यकिन गर्न गुणस्तर तथा नापतौल विभागका कर्मचारी र सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका तीनै जना चिनियाँ नागरिक, बरामद सुन र घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने जनाएको छ।

साढे दुईतले घरभित्र भेटिएको सुनको थुप्रोसँगै अब अनुसन्धानको केन्द्रमा केही गम्भीर प्रश्न छन्यो ? कारोबार कहिलेदेखि चलिरहेको थियो, यसको आर्थिक स्रोत के थियो र सुनको अन्तिम गन्तव्य कहाँ थियो? यी प्रश्नको जवाफसँगै बूढानीलकण्ठको यो रहस्यमय सुन धन्दाको वास्तविक चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस