काठमाडौं –
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार (असोज २३) बिहान करिब ८ बजेदेखि काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको हो।
निर्वाचन समितिले शुक्रबार दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। मतदान गर्न एक जना प्रतिनिधिलाई ३० देखि ४० मिनेटसम्म लाग्ने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए।
महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
मतदानबाट पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिहरूले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।
मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिनेछ।











