काठमाडौँ –
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ, विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ, यस्तो अवस्थामा हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ’, उनले भने ।
उनले परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेकोमा जोड दिए ।
‘प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्दै जान्छ, त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ’, राष्ट्रपति पौडेलले भने ।
विद्यालय ज्ञान, शिक्षा, चेतना, जागरणसँगै राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्था रहेको उनको भनाई थियो ।
विद्यालयका कक्षा कोठामा केवल पाठ्यपुस्तकको ज्ञान मात्र प्रदान हुँदैन, त्यहीँबाट अनुशासन, इमानदारिता, परिश्रम, सहिष्णुता, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनका महत्वपूर्ण मूल्यहरू सिकाइन्छ भन्दै उनले आजका विद्यार्थी नै भोलिका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा राष्ट्रका जिम्मेवार नागरिक भएको उल्लेख गरे ।
‘शिक्षा दिने भनेको विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क प्राप्त गर्ने मात्र होइन, समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्न सक्ने, प्रविधिको सदुपयोग गर्न सक्ने र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु पनि हो, यसमा सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबैको सहकार्य आवश्यक छ”, राष्ट्रपति पौडेलले भने ।












