२०८३ आश्विन २४ गते, शनिबार १४:३३

लागुऔषध दुर्व्यसन र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न जनसरोकार अभियानको माग

जनकपुर –

धनुषामा बढ्दो लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न आपराधिक गतिविधि नियन्त्रण गर्न ‘जनसरोकार अभियान’ले सरकारसँग कडा कदम चाल्न माग गरेको छ।

अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो।

पछिल्लो समय धनुषामा लागुऔषधको अवैध कारोबार र सेवनकर्ताको संख्या बढ्दै गएको भन्दै अभियानले सामाजिक सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ। लागुऔषधका कारण चोरीलगायत आपराधिक घटना बढ्नुका साथै सामाजिक सञ्जालमार्फत अभद्र टिप्पणी, चरित्रहत्या तथा धार्मिक र जातीय सद्भाव खल्बल्याउने गतिविधि भइरहेको अभियानको ठहर छ।

अभियानले जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको प्रसङ्ग उठाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ। घटनामा संलग्न मुख्य दोषी तथा सहयोगीलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा अभियानले जोड दिएको छ।

अभियानका संयोजक जितेन्द्र महासेठले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने, अतिरञ्जित टिप्पणी गर्ने र युवालाई आपराधिक गतिविधितर्फ आकर्षित गर्ने गिरोहलाई नियन्त्रण गर्न राज्य चुकेको आरोप लगाए।

उनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन तथा सीमापारिबाट हुने लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायको परिचालन प्रभावकारी बनाउनुपर्ने बताए।

ज्ञापनपत्रमा सीमा क्षेत्रबाट भित्रिने प्रतिबन्धित लागुऔषधको आपूर्ति शृङ्खला तोड्न सुरक्षा संयन्त्रलाई थप सक्रिय र प्रभावकारी बनाउन माग गरिएको छ। साथै, धार्मिक तथा जातीय सद्भाव कायम राख्न र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न सरकारले तत्काल ठोस नीति तथा कार्ययोजना ल्याउनुपर्ने अभियानको माग छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस