२०८३ कार्तिक १७ गते, सोमबार १३:३५

४१५ रुपैयाँको तोरीको तेल किने, भाग्य चम्किँदा गौरीशंकरले जिते १० लाख रुपैयाँ!

काठमाडौं –

बजारबाट ४१५ रुपैयाँको तोरीको तेल किन्दा धनुषाका एक युवकको भाग्य चम्किएको छ। सामान्य किनमेलका क्रममा काटिएको बिलले उनलाई एकैपटक १० लाख रुपैयाँको मालिक बनाएको छ।

धनुषाको नगराइन नगरपालिका–९, घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन्।

पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए। उनले उक्त सामानको भुक्तानी ई–सेवामार्फत गरेका थिए।

आन्तरिक राजस्व विभागले सोमबार विजेताको नाम सार्वजनिक गर्दा पण्डितको भाग्य चम्किएको हो। जम्मा ४१५ रुपैयाँको खरिद र डिजिटल भुक्तानीले उनलाई १० लाख रुपैयाँको उपहार दिलाएको छ।

अनलाइनखबरसँग कुरा गर्दै पण्डितले १० लाख रुपैयाँको विजेता बन्न पाउँदा अत्यन्तै खुसी लागेको बताए। उनले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुपर्ने बानी बसाल्न पनि सबैलाई आग्रह गरेका छन्।

सानो किनमेलमा लिइएको बिलले ठूलो पुरस्कार दिलाएपछि पण्डितको यो जितले उपभोक्तालाई बिल लिन र डिजिटल भुक्तानी गर्न थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस