२०८३ कार्तिक १७ गते, सोमबार १३:३३

पत्रकारमाथि प्रहरी धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं –

सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गर्न नेपाली कांग्रेसले संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

सोमबार (कात्तिक १६) सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथि भएको धरपकडलगायत घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय विशेष समिति गठनको माग गरेको हो।

कांग्रेसले पत्रकारमाथि धरपकड गर्ने प्रहरी र त्यसका लागि आदेश दिने व्यक्तिहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जनाएको छ।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शासन व्यवस्था कानुनभन्दा माथि हुन नसक्ने बताइन्। उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको स्पष्ट पारिन्।

उनले भनिन्, “लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार हो, संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति होइन । तर, पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।”

स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत भएको कांग्रेसको ठहर छ। पत्रकारमाथि गरिएको धरपकडबारे सरकारले जवाफ दिनुपर्ने पनि कांग्रेसले माग गरेको छ।

कांग्रेसले वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारका विषय र सुशासनका प्रयासमा आफ्नो समर्थन रहने जनाएको छ। तर, लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्तिपृथकीकरणका मूल्यमान्यताविपरीत सरकार अघि बढे त्यसको विरोध गर्ने चेतावनी दिएको छ।

त्यस्तै, कांग्रेसले सरकार संवैधानिक संरचनालाई कमजोर बनाउन लागिपरेको आरोप लगाएको छ। न्यायपालिकामाथिको प्रहार पनि त्यही प्रयासको हिस्सा भएको कांग्रेसको दाबी छ।

“न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण हुनुपर्दछ। सरकारका गतिविधि ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने मानसिकता र प्रवृत्तिका उपज हुन्,” कांग्रेसले भनेको छ।

सरकार आफूअनुकूलको शासन व्यवस्था स्थापित गर्न खोजिरहेको र संवैधानिक संरचनामाथिको आक्रमण सुनियोजित रहेको कांग्रेसको निष्कर्ष छ।

“यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृंखला हो भन्ने नेपाली कांग्रेस संसदीय दल स्पष्ट छ,” बैठकपछि कांग्रेसले जारी गरेको धारणा उल्लेख छ।

कांग्रेसले पत्रकारमाथिको धरपकडलगायत विवादित सरकारी गतिविधिको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही र त्यसका लागि संसदीय विशेष समिति गठन गर्न पुनः माग गरेको छ। साथै, प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस