२०८३ कार्तिक २२ गते, आईतवार ०:३७

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज–

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा ठेकेदार तथा मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज गरेको छ। नियम विपरीत भुक्तानी नदिएको निहुँमा मदिराले मातेर आएको उक्त समूहले निवासमै पुगेर थर्काउने र गालीगलौज गर्ने काम गरेको अधिकृत बोहराले गोप्यखबर लाई बताएका छन्।

कार्यालयमा अत्यधिक भिडभाड रहेकाले कर्मचारीको तलब र अत्यावश्यक भुक्तानीका लागि मेयर राजेशमान सिंहकै समन्वय र स्वकीय सचिव सत्यराजको रोहबरमा लेखा र योजना शाखाका कर्मचारीहरूसँग आफ्नो निवासमै कागजात तयार पारिरहेको बेला सो घटना भएको हो।

“हामी काम गरिरहेका थियौँ, अचानक घरको ढोका जोड-जोडले पिट्न थालियो। ढोका खोलेपछि निराजन अधिकारी, राहुल पाण्डे, संजिव यादव र राहुल तुल्श्यान मदिरामा मातेको अवस्थामा भित्र छिरे,” बोहराले भने, “उनीहरूले ‘हाम्रो पेमेन्ट किन रोकेको?’ भन्दै कोठामा भएका सबैलाई थर्काउन र गालीगलौज गर्न थाले। यसअघि पनि उनीहरूले कार्यालयमै आएर भुक्तानीका लागि दबाब दिने गरेका थिए।”

नियम विपरीत भुक्तानी नगर्ने अडान

अधिकृत बोहराका अनुसार मेयर सिंहका निकट भनिएका ठेकेदारहरूका सातवटा योजनामध्ये पाँचवटामा दुईदेखि तीन लाखसम्म कैफियत भेटिएको थियो। महानगरमा पुराना थुप्रै वैधानिक भुक्तानीहरू बाँकी रहेको अवस्थामा व्यक्तिगत दबाबका आधारमा कानुन विपरीत भुक्तानी दिन नसकिने अडान उनले राख्दै आएका छन्।

त्यति मात्र नभई, आर्थिक कारोबारको जिम्मेवारी अरविन्द लाल कर्णलाई सुम्पन नेतृत्व तहबाटै आफूलाई लगातार दबाब आउने गरेको पनि उनले खुलाए। “म पदमा रहुञ्जेल नियम अनुसार नै काम गर्नेछु। कसैको डर वा धम्कीका भरमा आफ्नो जिम्मेवारीबाट पछि हट्दिनँ,” उनले थपे।

कानुनी उपचारमा जाने तयारी

घटना घटेको रात नै प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न खोजे पनि भोलिपल्ट बिहान मात्र कुराकानी भएर घटनाको विस्तृत जानकारी गराइएको बोहराले बताए। आफ्नो निवासमै छिरेर गालीगलौज र दुर्व्यवहार गर्ने समूह विरुद्ध चाँडै कानुनी उपचारको प्रक्रियामा जाने तयारी भइरहेको अधिकृत बोहराले जानकारी दिएका छन्।

प्रतिक्रिया

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

पोडकास्ट सुन्नुहोस