वीरगन्ज-
रङ्गीविरङ्गी बिजुली बत्ती, फूलमाला र पण्डालले बेहुलीझैँ सिँगारिएको वीरगन्जस्थित घडिअर्वा पोखरीको छठघाट तयारी पूरा भएको छ। घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले शनिबार (आज) पत्रकार सम्मेलन आयोजना गरी पोखरी परिसरको साजसज्जा तथा सिरसोप्ता निर्माणलगायतका सम्पूर्ण काम सम्पन्न भएको जनाएको छ।
छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले यस वर्ष घडिअर्वा पोखरी परिसरको साजसज्जा तथा व्यवस्थापनमा २५ देखि २६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए।
छठघाटमा आउने व्रतालु तथा श्रद्धालुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै व्यवस्थापन समितिले महिला तथा पुरुष गरी ४० जनाभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी गरेको साहले बताए।
छठघाटमा हुन सक्ने सम्भावित दुर्घटना तथा अप्रिय घटनालाई समयमै नियन्त्रण गरी जनधनको क्षति रोक्न पोखरी परिसरनजिकै चिकित्सक, दमकल र एम्बुलेन्सको व्यवस्था मिलाइएको उनले जानकारी दिए। पूजामा सहभागी हुन आउने व्रतालु तथा श्रद्धालुलाई स्वास्थ्य समस्या देखिए तत्काल उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ।
त्यसैगरी, चोरीलगायतका आपराधिक घटना रोक्न जिल्ला प्रशासन कार्यालय पर्सासँगको समन्वयमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने उनले बताए। सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै घटनाको प्रमाण सुरक्षित राख्न पोखरी परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी कुल ३७ वटा सीसीटीभी क्यामेरा जडान गरिएको समितिले जनाएको छ।
अध्यक्ष साहका अनुसार घडिअर्वा पोखरीमा हुने छठ पूजाको सन्ध्या अर्घ्यमा सहभागी हुन सभामुख डोलप्रसाद (डीपी) अर्याल आउने कार्यक्रम छ भने भोलिपल्ट बिहानको अर्घ्यमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी हुनेछन्। विशिष्ट व्यक्तिहरूलाई सहज रूपमा पूजामा सहभागी गराउन सुरक्षा निकायसँगको समन्वयमा रुट व्यवस्थापनसमेत गरिएको उनले बताए।
वीरगन्जको घडिअर्वा पोखरी परिसरमा हुने छठ पूजामा यस वर्ष पनि एक लाख ५० हजारदेखि दुई लाखसम्म व्रतालु तथा श्रद्धालुको सहभागिता हुने अनुमान गरिएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ।











