२०८३ मंसिर ३ गते, बिहीबार २:४५

नेपाल–भारत सीमा क्षेत्रमा २७ गोली बेवारिसे अवस्थामा फेला, कसले छाड्यो ?

रौतहट –

नेपाल–भारत सीमाको संवेदनशील क्षेत्रबाट बेवारिसे अवस्थामा २७ थान गोली फेला परेपछि सीमा सुरक्षामाथि चासो बढेको छ। रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा ९ एमएमका गोलीजस्तो देखिने राउन्ड बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त गोली फेला पारेको जनाएको छ।

गस्तीका क्रममा कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र ९ एमएमका गोलीजस्तो देखिने २७ थान राउन्ड भेटिएको थियो।

सीमा क्षेत्रमा गोली फेला परे पनि ती गोली कसले, किन र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने खुल्न सकेको छैन। बरामद गोलीको स्रोत, सम्भावित प्रयोग र घटनासँग जोडिएका व्यक्तिहरूबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

संवेदनशील सीमा क्षेत्रमा बेवारिसे गोली भेटिनुले सीमा सुरक्षा निगरानी र अवैध हातहतियार तथा गोलीगठ्ठाको ओसारपसारमाथि थप सतर्कता आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस