२०८३ मंसिर ३ गते, बिहीबार ३:११

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की न्याय खोज्दै सर्वोच्चमा, आज पेसी

काठमाडौं –

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। आफूलाई बिना जानकारी र सुनुवाइको अवसर नदिई जिम्मेवारीमुक्त गरिएको भन्दै कार्की न्यायिक चुनौतीमा उत्रिएका हुन्।

सरकारले जिम्मेवारीमुक्त गरेपछि कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तिहार बिदाका कारण सुरुमा कात्तिक ३० गते सुनुवाइका लागि पेसी तोकिए पनि त्यस दिन छठ पर्वको बिदा थपिएपछि सुनुवाइ हुन सकेन। त्यसपछि आजका लागि पेसी तय गरिएको कार्कीका कानुन व्यवसायीले बताएका छन्।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। सरकारले कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णयसमेत गरेको थियो।

सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कार्की सर्वोच्च पुगेका हुन्। उनले आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै आरोप नलगाइएको तथा निर्णय गर्नुअघि जानकारी र सुनुवाइको अवसरसमेत नदिइएको रिटमा जिकिर गरेका छन्।

कार्कीले एआईजी मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान गर्ने लगायतका सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउन पनि माग गरेका छन्।

सरकारको प्रहरी नेतृत्व परिवर्तन गर्ने निर्णय र त्यसविरुद्ध निवर्तमान आईजीपीको न्यायिक चुनौतीबीच आज सर्वोच्चमा हुने सुनुवाइलाई चासोका साथ हेरिएको छ। अदालतको सुनुवाइपछि प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवादले थप कानुनी दिशा लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस