२०८३ मंसिर ३ गते, बिहीबार ३:११

कुलगाममा मुठभेडमा लश्कर कमान्डर लतीफ भट मारिए, मस्जिदभित्र लुकेका थिए

जम्मु–कश्मीर –

जम्मु–कश्मीरको कुलगाममा सुरक्षा बलसँगको मुठभेडमा लश्कर–ए–तैयबाका वान्टेड कमान्डर लतीफ भट मारिएका छन्। सीआरपीएफका जवानमाथि भएको आक्रमणको आठ दिनपछि सुरक्षा बलले उनलाई मार्न सफल भएको हो। यसअघि सोमबार भएको मुठभेडमा उनका सहयोगी उमर निसार दार पनि मारिएका थिए।

कुलगाम जिल्लामा बुधबार बिहानैदेखि सुरक्षा बल र लश्कर कमान्डर लतीफ भटबीच मुठभेड जारी थियो। आक्रमणमा संलग्न व्यक्तिहरूको खोजीका क्रममा सञ्चालन गरिएको सुरक्षा अभियानलाई सुरक्षा निकायले महत्वपूर्ण सफलता मानेको छ।

मस्जिदभित्र लुकेका थिए लतीफ भट

प्रहरीका अनुसार मुठभेडका क्रममा लश्कर–ए–तैयबाका शीर्ष कमान्डर लतीफ भट एक मस्जिदभित्र लुकेर बसेका थिए। उनलाई घेराबन्दीमा पारेपछि प्रहरीले आत्मसमर्पण गर्न आग्रह गरेको थियो।

अधिकारीहरूका अनुसार लतीफ भटलाई मस्जिदभित्रै आत्मसमर्पण गर्न भनिएको थियो। तर, उनले आत्मसमर्पण गर्न अस्वीकार गर्दै सुरक्षा बलमाथि गोली चलाएका थिए।

आतंककारी लुकेको क्षेत्रलाई सुरक्षा बलले चारैतिरबाट घेरा हालेर व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। यस क्रममा ५० भन्दा बढी व्यक्तिसँग सोधपुछसमेत गरिएको थियो।

मुठभेड बुधबार बिहान करिब १०ः३० बजे सुरु भएको बताइएको छ। त्यसअघि प्रहरीले भिडियो कलमार्फत लतीफ भटसँग सम्पर्क गरी उनलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो।

भिडियो कलका क्रममा एक अधिकारीले उनलाई ‘हामी तिम्रो साथमा छौँ’ भन्दै आत्मसमर्पण गर्न आग्रह गरेको सुनिएको थियो।

तर, लतीफ भटले आत्मसमर्पण गर्न अस्वीकार गर्दै आफूलाई अल्लाहसँग भेट्नुपर्ने भन्दै जवाफ दिएका थिए। उनले ‘मलाई अल्लाहसँग भेट्नुछ, म धेरै खुसी छु’ भनेको अधिकारीहरूले बताएका छन्।

यसअघि सोमबार कुलगाममा भएको मुठभेडमा लतीफ भटका सहयोगी उमर निसार दार मारिएका थिए। सुरक्षा बलले दुवैलाई कुलगाममा सीआरपीएफका जवानमाथि भएको आक्रमणमा संलग्न रहेको आशंकामा खोजी गरिरहेको थियो।स्रोत: Times of India

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस