२०८३ मंसिर ३ गते, बिहीबार २:४५

वीरगन्जका दुई प्राविधिक अधिकृतविरुद्ध साढे ३ लाख घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ—

सेवाग्राहीसँग तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगन्जका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगले कार्यालयका अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्रप्रसाद जयसवाल र विक्की यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा पर्साको ठोरी गाउँपालिका–३ मा सम्पन्न ‘जलस्रोतको पुनर्भरण तथा भण्डारण कार्य’ (सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मत सम्भार) योजनाको भुक्तानी र धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए।

उजुरीका आधारमा आयोगले गरेको अनुसन्धानका क्रममा जयसवाल र यादवको आपसी मिलेमतोमा सेवाग्राहीसँग मोलमोलाइ (बार्गेनिङ) गरी उक्त रकम लिने सहमति भएको पुष्टि भएको छ। पूर्वयोजनाअनुसार जयसवालले कार्यालय समयमा आफैँ रकम लिन नमिल्ने भन्दै सोही स्थानमा रहेका अर्का एक व्यक्तिमार्फत घुस बुझ्न लगाएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगले प्रतिवादीद्वय जयसवाल र यादवविरुद्ध तीन लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बराबरको जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस