२०८३ मंसिर ३ गते, बिहीबार २:४५

मधेश प्रदेश सरकार गठनमा अन्योल : दाबी पेस गर्ने समय नजिकिँदा पनि दलहरूबीच छैन औपचारिक छलफल

जनकपुरधाम —

मधेश प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक समयसीमा नजिकिँदै जाँदा पनि राजनीतिक अन्योल कायमै छ। अर्को सरकार गठनका लागि दलहरूबीच औपचारिक छलफल हुन नसक्दा सत्तारोहण अनिश्चित बनेको हो।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेको थियो। त्यसलगत्तै मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत शनिबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आगामी शुक्रबारसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुखले तोकेको समयसीमा घर्किन अब दुई दिन मात्र बाँकी छ। तर, नयाँ सरकार बनाउने दाबी गरिरहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल, एमाले, नेकपा र जनमत पार्टीबीच अहिलेसम्म कुनै पनि ठोस र औपचारिक छलफल हुन सकेको छैन।

एमाले प्रदेश सांसद राजकुमार लेखीले सरकारमा सहभागिता वा अन्य दललाई समर्थन गर्ने विषयमा अहिलेसम्म कुनै टुंगो नलागेको बताएका छन्। यसअघि केही चरणमा दलहरूबीच भेटघाट र कुराकानी भए पनि कुरा मिल्न नसकेको नेताहरू स्वीकार गर्छन्। शीर्ष नेताहरू काठमाडौंमै रहेको र बिहीबार साँझसम्म केही प्रगति हुन सक्ने सांसद लेखीको भनाइ छ। शुक्रबारसम्मको समय सीमा रहेकाले अबको केही दिनमा सरकार गठनको चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस