जनकपुर–
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोजकुमार यादवले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश सभामा कुनै पनि दलले बहुमत पुर्याएर सरकार गठनका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि मधेसमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच सत्ता गठबन्धन बन्ने चर्चा चले पनि दलहरूबीच उचित समझदारी जुट्न सकेको थिएन । सोही कारण बहुमतको सरकार बन्न नसकेपछि ठूलो दलको नेतृत्वमा सरकार गठन भएको हो ।
मन्त्रिपरिषद् विस्तार र अन्य मन्त्रीहरू थप्ने विषयमा भने पार्टीभित्र औपचारिक छलफल हुन बाँकी रहेको जसपा नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार जसपाले आगामी दिनमा एकल सरकारलाई नै निरन्तरता दिने वा अन्य राजनीतिक शक्तिहरूलाई समेत समेटेर अघि बढ्ने भन्ने विषयमा दुवै विकल्प खुला राखेको छ ।











