पर्सा-

पर्सा प्रहरीले अवैधरुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अझै जारी छ । विशेष सूचनाको आधारमा अवैधरुपमा लगाइएको गाँजा खेती नष्ट अभियान अन्तर्गत प्रहरीले शुक्रबार अबेरसम्म गाँजा फडानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४ सोहपुरमा लगाइएको लागु औषध गाँजा नष्ट गरेको हो ।

प्रहरीको टोलीले करिब १५ कट्ठामा लगाइएको गाँजाको बोट फडानी गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार सो जग्गामा लगाइएको करिब १५ हजार गाँजाको बोट फडानी गरिएको छ ।

गाँजा खेती गर्ने व्यक्तिमाथि समेत अनुसन्धान प्रक्रिया अगाडि बढाइने तयारी गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्