काठमाडौं –
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धका आगामी प्राथमिकताबारे चासो बढिरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै छन्। उनको दुईदिने औपचारिक भ्रमणलाई कूटनीतिक तथा राजनीतिक वृत्तले विशेष चासोका साथ हेरेको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री आज काठमाडौं आउन लागेका हुन्। उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्नुका साथै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डाबारे समझदारी बनाउनु रहेको बताइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राईले भारतीय समकक्षी मिश्रीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
त्यसैगरी, आपसी हित र चासोका विषय, द्विपक्षीय सहकार्य तथा नेपाल–भारत सम्बन्धका विभिन्न आयामको समीक्षा गरिने मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री बालेन नेतृत्वको नयाँ सरकार र भारतबीचको सम्बन्धले आगामी दिनमा कस्तो दिशा लिने भन्ने चासो बढिरहेका बेला हुन लागेको मिश्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण, दुई देशबीचका पुराना सहमति तथा आपसी हितका विषयमा हुने छलफललाई राजनीतिक वृत्तले महत्त्वका साथ हेरेको छ।
दुईदिने नेपाल भ्रमण पूरा गरी भारतीय विदेश सचिव मिश्री कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम छ।











