काठमाडौँ-
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बीचको क्षेत्राधिकार विवाद समाधान भइसकेको दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । विगत लामो समयदेखि चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच क्षेत्राधिकार र कानूनी प्रवन्धको बारेमा अन्तरद्वन्द्व रहँदै आएको थियो । मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोगले बनाएको शैक्षिक क्यालेण्डर सिटिइभिटीले पालना नगरेकोले दुवै संस्थाहरुबीच बारम्बार अन्तरद्वन्द्व रहेकोमा छलफलको माध्यममा समाधान गराएको बताउनु भयो । उहाँले चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच क्यालेण्डर पालना गर्ने सहमति भइसकेको बताउनु भयो । उहाँले सिटिइभिटीको परिषद् र सभाको बैठक लामो समयदेखि बस्न नसकेकोमा आफूले आएपछि सुधारको प्रयत्न गरिरहेको बताउनु भयो । संसदीय समितिले दिएको निर्देशन पालना गर्ने दायित्व सरकारको भएपन बेथिति भएको ठाउँ सुधार्न समय लाग्ने उहाँको भनाइ छ ।

बिहीवार समिति बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल भएको छ ।