काठमाडौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले क्यालेण्डरमा लेखाइएको भएपनि सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक गर्ने हिम्मत समेत गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको एकीकरण गर्ने महान व्यक्तिको जन्मजयन्ती मनाउन हिनतावोध गर्ने व्यक्तिबाट मुलुकको संरक्षण नहुने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए कुन देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्नुहुन्थ्यो ? भन्दै प्रश्न गर्नुभयो । पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्न नुहने उहाँको भनाइ छ ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ ।