काठमाडौँ-
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराएका थिए ।
राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।
यसअघि उनी सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट उनी बिदा भएका थिए ।

यस्तै अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्सले पनि शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।
सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए ।
‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो’, ट्रम्पले भने । उनले नागरिकलाई एकताबद्ध भएर काम गर्न आह्वानसमेत गरे ।
राष्ट्रपति ट्रम्पले अमेरिकाको सम्प्रभुता, सुरक्षा र न्यायको सन्तुलन कायम गरिने बताए ।
राष्ट्रपति बनेकै दिन उनले अमेरिका–मेक्सिको सीमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रम राखेर ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अख्तियार गर्ने अनुमानलाई बल प्रदान गरेका छन् ।
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकामा अबैधानिक रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने प्रक्रिया सुरु गरिने छ ।