वीरगन्ज-
नयाँ वर्ष २०८२ को शुभ अवसर र बिरगन्जका अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएका कारण क्वाइनोनिया बिरगन्ज चर्चको ख्रीष्टिय युवा समाजले रक्तदान कार्यक्रम आयोजना गरेको छ। ‘रक्तदान जीवन दान, जीवन दान महादान’ भन्ने नारासहित बिरगन्ज महानगरपालिका वडा नं. १६, अमरचोकस्थित चर्चको हलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम पा. राजकुमार घिमिरेको अध्यक्षतामा र वडा नं. १६ का वडाध्यक्ष प्रशुराम चौरसियाको प्रमुख आतिथ्यमा भएको थियो। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथि थिए भने बिरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, बिरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा १९ महिला सहित ९३ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा दिपक साह, आयुष सिंह लामा, रोहन खड्का, कमला चौबेलगायत थिए।
नेपाल रक्तसञ्चार केन्द्र बिरगन्जमा रगतको अभाव देखिएकाले यो कार्यक्रम आयोजना गरिएको रेडक्रस उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले बताए। मनिष साह र लिलाधर साहको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।