२०८२ जेष्ठ ३१ गते, शनिबार २३:५५

श्रीनगर —

भारत र पाकिस्तानबीच भएको युद्धविरामपछि जम्मु–कश्मीरमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। मंगलबार श्रीनगर र नियन्त्रण रेखा (एलओसी) वरपरका सबै जिल्लाका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा कक्षा सुचारु भएका छन्। श्रीनगर र जम्मु विमानस्थलबाट नियमित उडान पनि सुरु भएको अधिकारीहरूले जनाएका छन्।

यसैबीच, मे ४ मा हज यात्रा गर्नुपर्ने यात्रीहरूले बुधबार बिहानबाट यात्रा सुरु गर्ने समाचार प्राप्त भएको छ। हज यात्रीका लागि अतिरिक्त उडानको व्यवस्था समेत गरिएको छ। सरकारले एलओसी नजिकका गाउँबाट विस्थापित बासिन्दालाई फर्काउन विशेष बसको व्यवस्था गरेको छ। अस्थायी शिविरबाट गाउँ फर्कनेहरूका लागि यो सुविधा उपलब्ध गराइएको हो।

चार दिनसम्म चलेको सैन्य तनावका कारण उरी, तंगधार, करनाह, माझिल, चौकी बललगायत सीमावर्ती गाउँमा बमगोला खसेका थिए। ती क्षेत्रमा नपड्किएका गोला बारुद निष्क्रिय पार्न सैनिक टोली सक्रिय छ। बारामुलाका एसएसपी गुरिन्दर पाल सिंह र कुपवाडाका एसएसपी गुलमा जिलानीका अनुसार, प्रहरी, सेना र अर्धसैनिक बलको बम निष्क्रिय टोलीले दुवै जिल्लाका दर्जनौं बस्तीमा काम गरिरहेको छ। उरीमा मात्रै २० वटा गोला भेटिएको प्रहरीले जनाएको छ।

जम्मुको पुँछ, राजौरी र आरएस पूरा क्षेत्रमा पनि बारुदी सुरुङ हटाउने र विस्थापित बासिन्दालाई फर्काउने कार्य तीव्र गतिमा भइरहेको छ।

यसैबीच, जम्मु–कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाहले सोमबार राजौरीको भ्रमण गरी क्षतिको आकलन गर्नुका साथै प्रभावित परिवारसँग भेटघाट गरेका थिए।

गत २२ अप्रिलमा जम्मुको पर्यटकीय क्षेत्र पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली नागरिक पनि सामेल थिए। त्यसपछि भारत–पाकिस्तानबीच बढेको तनाव मे ६ को रातिसम्म पुग्दा सीमापार आक्रमणमा परिणत भएको थियो।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै देशबीच युद्धविराम भएको थियो। युद्धविरामको घोषणापछि सीमावर्ती क्षेत्रमा शान्ति कायम भएको छ, तर स्थानीय बासिन्दामा अझै पनि त्रास कायम छ।

(बीबीसी हिन्दीको सहयोगमा)

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस