२०८३ जेष्ठ २८ गते, बिहीबार ०९:५१

तिल गाउँका बासिन्दाहरूको उद्धार गर्न सांसद भोटेको माग

काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरूको उद्धारका लागि सरकारले विशेष योजना बनाउनुपर्ने माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिमताल फुट्दा त्यहाँको अवस्था कष्टकर बनेको र स्थानीयहरूको जीवन संकटमा परेको बताए।

सांसद भोटेले तिल गाउँका बासिन्दाहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्न तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे। उनले भने, “हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ। गाउँलेहरू न यता जान सकिरहेका छन्, न उता। जनता रोइरहेका छन्, गुहार मागिरहेका छन्। दुर्गम क्षेत्र भएकाले सरकारलाई पुग्न गाह्रो भएको छ। तत्काल हेलिकप्टर र भूगोल विज्ञसहित अनुसन्धान गरी विशेष प्याकेज तयार गर्नुपर्छ।”

उनले हुम्ला जिल्लाबाट ‘हिमाल बचाउ अभियान’ सुरु गर्न र हिमाल केन्द्रित योजना बनाउन समेत माग गरे। यो मुद्दाले हिमाली क्षेत्रको संरक्षण र स्थानीयको जीवनस्तर सुधारमा सरकारको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस