२०८३ असार २४ गते, बुधबार १०:४३

पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाण दोषी ठहर

काठमाडौं –

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सञ्चालन गरिएको ठगी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार खाण, रायमाझीलगायतलाई उक्त ठगी प्रकरणमा दोषी ठहर गरेको हो।

अदालतको संक्षिप्त आदेशअनुसार नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण ठगी तथा संगठित अपराधमा मतियारका रूपमा दोषी ठहर भएका छन्।

खाण यसअघि केही समय पक्राउ परेका थिए भने पछि उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका थिए। पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी भने ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका छन्।

राज्यविरुद्धको कसुरमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा पनि दोषी ठहर भएका छन्। आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यले मुलुकको छवि अन्तर्राष्ट्रिय रूपमा धुमिल बनाएको अदालतको ठहर छ।

बालकृष्ण खाणसँगै अन्य पाँच जना पनि संगठित ठगीमा मतियारका रूपमा कसुरदार ठहर भएका छन्। मतियार ठहर हुनेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका पूर्वअध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल रहेका छन्।

उनीहरूले ठगी कार्यमा नीतिगत, व्यवस्थापकीय तथा प्राविधिक सहयोग पुर्‍याएको फैसलामा उल्लेख गरिएको छ।

यसैबीच, केही आरोपितले भने सफाइ पाएका छन्। सफाइ पाउनेहरूमा टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्। उनीहरूविरुद्ध आरोप पुष्टि हुने पर्याप्त प्रमाण नपुगेको अदालतले जनाएको छ।

यता, शरणार्थी प्रकरणमा विचौलियाको भूमिका खेलेका बेचन झा भने ठगी कसुरमा दोषी ठहर भएका छन्।

यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो। फरार रहेका प्रतिवादीहरूको हकमा भने मुद्दा मुल्तवीमा राख्ने फैसला भएको छ। दोषी ठहर भएका सबैको सजाय निर्धारण आगामी असार २९ गते गरिने अदालतले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस