२०८३ असार २६ गते, शुक्रबार १७:४३

एन्डी बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं –

वेलायतमा सर कियर स्टार्मरको स्थानमा लेबर पार्टीको नेतृत्व सम्हाल्न एन्डी बर्नहमको बाटो लगभग खुला भएको छ ।

लेबर पार्टीका ३२२ सांसदको समर्थन प्राप्त गरेसँगै उनी पार्टीको नयाँ नेता र बेलायतको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको बीबीसीले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको मनोनयन प्रक्रियामा बर्नहम मात्र औपचारिक रूपमा उमेदवार बनेका छन् । हालसम्म उनलाई ३२२ जना लेबर सांसदले समर्थन गरिसकेका छन् ।

अरू कुनै उमेदवारलाई चुनावी प्रतिस्पर्धामा उत्रिन गणितीय रूपमा सम्भव नहोस् भन्नका लागि बर्नहमलाई ३२३ सांसदको समर्थन आवश्यक छ । उनी त्यसका लागि अब केवल एक मतले मात्र पछाडि छन् । केही सांसदले बिहीबार मतदान गर्न नपाए पनि संसद् फर्किएपछि बर्नहमलाई नै समर्थन गर्ने बताएका छन् ।

यदि, अपेक्षाअनुसार अन्य कुनै उमेदवार अघि नआए, अर्को हप्ता बर्नहमलाई लेबर पार्टीको नयाँ नेता घोषणा गरिने बताइएको छ । त्यसपछि उनले जुलाई २० मा बेलायतको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ ।

केही साताअघि मात्र म्याचेष्चरको मेकरफिल्ड क्षेत्रबाट उपनिर्वाचन जितेर संसद् प्रवेश गरेका ग्रेटर म्यानचेस्टरका पूर्वमेयर बर्नहमको यो राजनीतिक उकालो निकै तीव्र र असाधारण मानिएको छ । बीबीसी

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस