२०८३ श्रावण ६ गते, बुधबार १३:२३

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दीर्घकालीन नीति, हरित उद्यम र नवप्रवर्तनमा जोड

काठमाडौं –

जलवायु परिवर्तन नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य तथा समग्र विकाससँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको भन्दै यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन र हरित उद्यमलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

नेपाली कांग्रेसले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा नीति विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती, त्यसका प्रभाव र सम्भावित समाधानबारे धारणा राखेका हुन्।

जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन कुनै एउटा क्षेत्र वा एउटा विषयसँग मात्र सम्बन्धित मुद्दा नरहेको बताए। अहिले यसको असर नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा प्रत्यक्ष देखिन थालेको उनले बताए । रेमिटेन्सजस्तो क्षेत्रमासमेत जलवायु परिवर्तनको अप्रत्यक्ष प्रभावबारे पर्याप्त अध्ययन हुन नसकेको उनको भनाइ थियो। उनले भने, ‘जलवायु परिवर्तनलाई हाम्रो नीति तथा कार्यक्रम र बजेटमा एउटा बुँदामा मात्र सीमित राखेर पुग्दैन। यसले अर्थतन्त्रका सबै क्षेत्रमा पार्ने प्रभाव, आउँदो पुस्ताले भोग्नुपर्ने चुनौती र त्यसबाट सिर्जना हुन सक्ने अवसरलाई पनि समेटेर नीति बनाउन आवश्यक छ। अहिले हामी जलवायु परिवर्तनलाई वातावरणको विषय मात्र भनेर हेर्छौं, तर यसले कृषि, ऊर्जा, पर्यटनदेखि रोजगारी र समग्र विकासमा असर गरिरहेको छ।’ ढकालले फोहोरमैला व्यवस्थापन पनि जलवायु परिवर्तनको एउटा महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै विकसित राष्ट्रलाई मात्र दोष दिनुभन्दा नेपालले आफ्नै फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने धारणा राखे।

यस्तै ,ऊर्जा तथा नीति विश्लेषक अभिषेक यादवले नेपालले जलवायु कार्यान्वयन योजनाअन्तर्गत नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। जलविद्युत्, सौर्य ऊर्जा, विद्युतीय सवारी साधनको प्रयोग र वन संरक्षणका क्षेत्रमा सकारात्मक काम भइरहेको उनले बताए। उनले भने, ‘नेपालले जलवायु कार्यान्वयन योजनामा राम्रै उपलब्धि हासिल गरेको छ। नवीकरणीय ऊर्जा विस्तार भइरहेको छ, विद्युतीय सवारीको प्रयोग बढिरहेको छ र वन संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ। चुनौतीहरू अझै छन्, विशेषगरी विद्युतीय सवारीका ब्याट्रीको रिसाइक्लिङको विषय। त्यसलाई पनि कार्यान्वयन योजनामा समेटिएको छ। अहिले ब्याट्री प्रविधि पनि निरन्तर विकसित भइरहेको छ र भविष्यमा कम स्रोतसाधन प्रयोग गरेर पनि प्रभावकारी ब्याट्री उत्पादन हुने अवस्था बन्दै गएको छ।’

त्यस्तै, पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष रूपमा देख्न थालिएको अनुभव सुनाइन्। विगतमा अध्ययन र अनुसन्धानमा मात्र सीमित रहेको विषय अहिले हिमाल आरोहणका क्रममा आफ्नै आँखाले देख्न सकिने अवस्थामा पुगेको उनले बताइन्। उनले भनिन्, ‘पहिले जलवायु परिवर्तनको असर १०–१५ वर्षपछि देखिन्छ भनेर पढ्ने र सुन्ने गथ्र्यौं। तर अहिले हिमाल चढ्दा आफ्नै आँखाले हिमालहरू बिस्तारै पग्लिरहेको देख्न सकिन्छ। आरोहणका क्रममा पहिले कहिल्यै नदेखिएका नयाँ–नयाँ संकेतहरू देखिन थालेका छन्। मौसमको पूर्वानुमानअनुसार अवस्था नहुँदा अचानक धेरै हावा चल्ने, अत्यधिक हिमपात हुने जस्ता समस्या बढेका छन्। यसले हिमाल आरोहणलाई झन् जोखिमपूर्ण बनाइरहेको छ।’

दन्त चिकित्सक, सामाजिक उद्यमी तथा वातावरण संरक्षण अभियन्ता डा। मनु कार्कीले हरित उद्यम सञ्चालन गरेको सात वर्ष बितिसक्दा पनि जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न नसकेको गुनासो गरिन्। सूचना र वित्तीय पहुँच अभावकै कारण धेरै हरित उद्यमीले अवसर गुमाइरहेको उनको भनाइ थियो। उनले भनिन्, ‘म हरित उद्यमी भएको सात वर्ष भयो। तर अहिलेसम्म जलवायु वित्त कहाँबाट पाइन्छ, कसरी आवेदन दिने भन्ने स्पष्ट जानकारी पाउन सकेकी छैन। यस्ता सूचनाहरू सबै वेबसाइट र सार्वजनिक माध्यममार्फत सहज रूपमा उपलब्ध हुनुपर्छ। विशेषगरी म जस्ता महिला उद्यमीको पहुँचसम्म यो जानकारी पुग्नुपर्छ।’ उनले नेपालमा उत्पादन नहुने कच्चा पदार्थ आयात गर्दा करमा सहुलियत दिनुपर्ने र त्यसले हरित उद्योगलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताइन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस