काठमाडौं –
तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ। भोटेकोशी नदीमा अचानक पानीको बहाव बढेपछि बुधबार बिहान करिब ९ बजे टिमुरे बजार क्षेत्रमा बाढी पसेको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अचानक आएको बाढीले टिमुरे बजार क्षेत्रका बस्तीमा क्षति पुर्याएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन। बाढीको तीव्र बहावका कारण प्रभावित क्षेत्रमा तत्काल पुगेर क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढी नुवाकोटसम्म पुगेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार बाढी नुवाकोट क्षेत्रमा प्रवेश गरिसकेको छ। बाढीबाट भएको क्षतिको अवस्था तत्काल यकिन गर्न सकिने अवस्था नरहेको उनले बताए।
बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहतका लागि तयारी गर्न जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको जनाइएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, यसबारे तिब्बत पक्षबाट आधिकारिक जानकारी भने प्राप्त भइसकेको छैन। तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहावसमेत बढ्न सक्ने भएकाले रसुवादेखि मुग्लिनसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
बाढीको वास्तविक कारण, सम्भावित हिमताल विस्फोट र यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट आधिकारिक रूपमा आउन बाँकी छ।










