पोखरा –
रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये १०२ वटा शव कास्की ल्याइएको छ। तनहुँ, नवलपुर, धादिङ, गोरखा लगायतका विभिन्न जिल्लामा फेला परेका शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।
कास्कीमा ८८ वटा शव मात्र राख्न सक्ने क्षमता रहेको र केही शव यसअघि नै रहेकाले थप शव व्यवस्थापनमा कठिनाइ भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताएका छन्।
उनका अनुसार बाढीमा फेला परेका शवमध्ये केही पूर्ण शरीर नभई मानव अङ्ग मात्र रहेका छन् भने केही साना बालबालिकाका शव छन्। त्यस्ता शवलाई साना बक्समा राखेर हालसम्म व्यवस्थापन गरिएको उनले बताए।
‘हाल सङ्कलन भएका शवमध्ये कतिपय पूर्ण शरीर नभई अङ्ग मात्र छन् भने कतिपय साना बालबालिकाका शव छन्। त्यसैले साना बक्समा राखेर अहिलेसम्म व्यवस्थापन मिलाइएको छ,’ गुरुङले भने, ‘अब थप शव व्यवस्थापन गर्न समस्या हुने अवस्था छ।’
मौजुदा क्षमता भरिसकेकाले तत्काल थप शव राख्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। हाल शवगृहमा रहेका शवहरूलाई पहिचान गरी आफन्तलाई हस्तान्तरण वा आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थापन गरेपछि मात्रै थप शव राख्न सकिने अवस्था रहेको उनले बताए।
यसैबीच, सङ्कलन गरिएका शवको पहिचान प्रक्रिया पनि सुरु भएको छ। शवको फोटो खिचेर अभिलेख राख्ने र आफन्तले पहिचान गर्न सकेमा कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाउने तयारी गरिएको गुरुङले जानकारी दिए।
पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि आवश्यक नमुना सङ्कलनसमेत गरिएको छ। लामो समयसम्म पहिचान हुन नसकेका वा दाबी गर्न कोही नआएका शवलाई प्रचलित शव व्यवस्थापन कार्यविधिअनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।
जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठन गरिएको शव व्यवस्थापन समितिले आवश्यक प्रक्रिया पूरा गरी शवको पहिचान, हस्तान्तरण तथा व्यवस्थापन गर्ने कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।











