२०८३ भाद्र २६ गते, शुक्रबार ११:२४

बैंकिङ कसुरमा उद्योगपति केडिया दोषी ठहर

वीरगन्ज –

वीरगन्जका प्रतिष्ठित उद्योगपति सञ्जयकुमार केडिया बैंकिङ कसुरसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

राजेन्द्रप्रसाद तेलीले दायर गरेको मुद्दामा पर्सा जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले भदौ २२ गते फैसला सुनाउँदै केडियामाथि लगाइएको अभियोग दाबी पुग्ने ठहर गरेको हो । यसअघि गत जेठ ७ गते भएको सुनुवाइमा अदालतले उनीसँग धरौटी माग गरेको थियो ।

सिद्धार्थ बैंकका पूर्वसंस्थापक सेयरधनीसमेत रहेका केडिया यसअघि पनि विभिन्न वित्तीय तथा जग्गासम्बन्धी विवादमा जोडिँदै आएका छन् । केडिया समूहको नेतृत्वमा रहेको सिद्धार्थ बैंकको वीरगन्ज शाखा (त्रिभुवन राजमार्गस्थित) का लागि जग्गा खरिद गर्दा सञ्चालक समितिको निर्णयका आधारमा ठूलो आर्थिक चलखेल गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

यसैगरी, सरकारी (ऐलानी) जग्गा केडिया परिवारका सदस्यहरूको नाममा दर्ता गराउन कीर्ते सिफारिस गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा समेत सञ्जय केडियालाई विपक्षी बनाइएको छ ।

अदालतको पछिल्लो फैसलासँगै प्रतिष्ठित व्यवसायीका रूपमा छवि बनाएका केडियासँग सम्बन्धित विगतका विवादित प्रकरणहरू पुनः चर्चामा आएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस