पर्सा-
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिईने तयारी गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरुले बताएका छन् ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ ।
पर्सामा ३४७ घाट, सुरक्षाका लागि ६ सय प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय पर्साले छठ पर्वलाई लक्षित विशेष सुरक्षा योजना तयार पारेको छ । छठ पर्वलाई सुरक्षित रुपले सम्पन्न गर्नका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पर्सा प्रहरीले जनाएको छ ।
भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको परिचालनका साथै सीसीटीभी क्यामराबाट ‘मोनिटरिङ’ (निगरानी) गरिने रणनीति तय गरिएको पर्सा प्रहरीको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीका अनुसार यो पर्वलाई मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चाडपर्वमा हुने विभिन्न आपराधिक घटना, चोरी डकैती लगायतलाई मध्यनजर गर्दै सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न व्यापक प्रहरी परिचालन गर्ने तयारी गरिएको उनको दाबी छ ।
उनका अनुसार पर्सा प्रहरीले छठ पर्वका लागि मात्रै ६०० जना प्रहरी परिचालन गर्ने खाका तयार पारिएको छ । त्यसको अलावा आवश्यक परेको खण्डमा प्रहरी जनशक्ति थप गरी सुरक्षा चुस्त बनाउने रणनीति तयार पारिएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
यसैगरी ट्राफिक प्रहरी, छठघाट व्यवस्थापन समिति, नागरिक अगुवा, स्वयंसेवकहरु समेत नागरिकको जिउधनको रक्षा गर्न खटिने पर्सा प्रहरी बताउँछ ।
कति छठघाट र?
छठ पर्व तराइँको ठूलो पर्व हो । सबै भन्दा आस्थाका साथ मानिने भएकाले यो पर्वको बेग्लै महत्व छ । त्यसकारण छठ पर्वका अवसरमा जिल्लाका नदी किनारा तथा पोखरीस्थितका घाटहरु बेहुली झैं सिँगारिने काम भइरहेको छ ।
एक विवरण अनुसार जिल्लाका विभिन्न पालिकाहरुमा घाटमा पूजाका लागि तयारी जोडतोडले भइरहेका छन् । यसवर्ष पर्सा जिल्लाभर झण्डै साढे ३०० छठघाट निर्माण गरी पूजाको तयारी भइरहेको पर्सा प्रहरीको अभिलेख छ ।
प्रहरी प्रवक्ता भारतीका अनुसार जिल्लाभर गरी ३ सय ४७ वटा छठ घाट तयारी पारिएको छ । १४ वटै पालिकाहरुमा गरी उक्त सङख्यामा घाटहरु सिँगारिएको छ ।