काठमाडौं-
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताउनुभएको छ ।
मंगलवार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले अहिले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले बैंकहरुमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पतीको मात्रा बढिरहेको भन्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताउनु भयो । उहाँले निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भनिए पनि निराश हुने अवस्था नभएको बताउनु भयो । उहाँले बैंकहरुबाट पछिल्लो समय लगानी नै नभएको भन्ने अवस्था नभएको भन्दै केही प्रतिशत वृद्धि भइरहेको बताउनु भयो । उहाँले आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जाने अवस्था देखिएको बताउनु भयो । उहाँले जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको लागि वातावरण बन्दै गएको बताउनु भयो ।

अध्यक्ष कोईरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभयो । कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको बताउनु भयो । उहाँले कर्जा रिकभरीमा स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको बताउनु भयो ।