काठमाडौं-
चालु आर्थिक वर्षको पहिलो छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार, यो सङ्ख्या गत आर्थिक वर्षको समान अवधिको तुलनामा वृद्धि दर्शाउँछ। लापराहीपूर्वक सवारी साधन चलाउने र ट्राफिक नियमको पालनामा ध्यान नदिनु यसको प्रमुख कारण हो।
विसं २०८० को पुस मसान्तसम्म देशभर ११ हजार तीन सय ३८ सडक दुर्घटना दर्ता भएको छ, जसमा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ। गत वर्षको समान अवधिमा १२ हजार आठ सय ५६ सडक दुर्घटना दर्ता भएको थियो, जसमा एक हजार एक सय ४९ जनाको मृत्यु भएको थियो। यस वर्ष दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि देखिएको छ।

गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए। उनका अनुसार, गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४, असोजमा एक हजार आठ सय ७३ दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा दुई सय ५८, मङ्सिरमा दुई हजार १४ दुर्घटनामा दुई सय ५२ र पुसमा दुई हजार दुई सय ७६ दुर्घटनामा एक सय ९७ जनाको मृत्यु भएको थियो।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ। मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका बाहेक) मा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ।
यस अवस्थामा सरकारले सडक सुरक्षा सम्बन्धी नियमहरू कडाईले लागू गर्ने र जनचेतना अभियान बढाउन आग्रह गरेको छ। सवारी साधन चालकहरूलाई ट्राफिक नियम पालना गर्न र सतर्कताको साथ वाहन चलाउन अपील गरिएको छ।