बारा —
राष्ट्रिय एकता अभियानले बारा जिल्लाका केही स्थानहरूमा ऐतिहासिक र भौगोलिक पहिचान मेट्ने गरी पुरानो नामका सट्टा गरिएको नयाँ नामाकरणको विरोध जनाएको छ। अभियानले यस्तो नामाकरणलाई स्थानीय पहिचान मेट्ने “जेहादी सडयन्त्र” भन्दै गम्भीर आपत्ति जनाएको छ।
सोमबार, अभियानका नेताहरुले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पुरानो नाम र स्थानीय पहिचान मेट्ने गरी गरिएको नयाँ नामाकरण अबिलम्ब हटाउन आग्रह गरेका छन्। ज्ञापनपत्रमा विदेशी शब्दमा आधारित नामाकरणबाट स्थानीय पहिचान मेटाउने प्रयासलाई “जेहादी सडयन्त्र” भन्दै गम्भीर आपत्ति जनाइएको छ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार, फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारलाई “मुस्तफा चौक” र कोलबी नगरपालिका–७ स्थित धोधरपा गाउँमा रहेको “अन्सारी चोक” जस्ता नयाँ नामकरण नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले यस्ता नामकरण भएका जिल्लाका सबै बोर्डहरु अबिलम्ब हटाउने माग गरिएको छ।
ज्ञापनपत्रमा नेपालको ऐतिहासिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र विदेशी जेहादीहरुको इसारामा भइरहेका यस्ता साम्प्रदायिक गतिविधि पुनः नदोहोर्याउने गरी दीर्घकालीन नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ। नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मुलुकको मूल पहिचान मेट्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताइएको छ।
राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय तथा उचित कारबाहीको माग गर्दै नेपालको सांस्कृतिक पहिचान बचाउन यो कदम आवश्यक रहेको जनाएको छ।
यस सम्बन्धमा बारा जिल्ला प्रशासन कार्यालयले अझै कुनै प्रतिक्रिया दिएको छैन।