२०८२ असार १७ गते, मंगलवार १०:५९

वीरगन्ज-

वीरगन्जमा एक किशोरीमाथि पटक–पटक बलात्कार भएको घटना सार्वजनिक भएको छ। पीडित किशोरी बलात्कारका कारण गर्भवती बनेकी छन् र उनको गर्भ १० हप्ताको भएको तथ्य पनि बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाका आरोपित शेख मोहम्मद अनवरलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार पीडकले किशोरीलाई पानीमा नशालु पदार्थ मिसाएर मानसिक रूपमा सुस्त बनाई बारम्बार बलात्कार गरेको खुलेको छ। पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा आफू पीडकको घरमा पढ्न जाँदा यस्तो अमानवीय व्यवहारको सिकार भएको बताएकी छन्। उनले भनेकी छन्, “उनले मलाई पानीमा नशालु पदार्थ मिसाएर बेहोस बनाउँथे र त्यसपछि बलात्कार गर्थे।” किशोरीका अनुसार पीडकले उनलाई ज्यान मार्ने धम्की दिने र घटना बाहिर ल्याए बेइज्जत गराइदिने भन्दै नियमित यौन शोषण गर्दै आएका थिए।

पीडित किशोरी पीडककी छोरीकी साथी भएको र सोही नाताले उनको घरमा आउजाउ गर्ने क्रममा यो अपराधको सिकार बनेकी हुन्। घटना लामो समयसम्म लुकाइए पनि किशोरी गर्भवती भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी दिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले पीडितका बुवाले जाहेरी दिए लगत्तै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए। उनका अनुसार आरोपित शेख मोहम्मद अनवर वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरका स्थायी बासिन्दा हुन्। “हामीले उनलाई पक्राउ गरेका छौं र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइरहेका छौं,” मिश्रले भने।

यो घटनाले वीरगन्ज क्षेत्रमा ठूलो तरंग ल्याएको छ। स्थानीयवासीले यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। प्रहरीले पीडितको स्वास्थ्य जाँच र थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस