२०८२ असार १७ गते, मंगलवार १७:००

वीरगन्ज, पर्सा

वीरगन्ज महानगरपालिका क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सिसिटिभी क्यामेरा सञ्जाल विस्तार गर्ने अभियानअन्तर्गत सोमबार विभिन्न बैंकहरूले १७ लाख ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको आह्वानमा सुरक्षित वीरगञ्ज अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरूले उक्त रकम उपलब्ध गराएका हुन्। बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा पर्सामा सञ्चालित बैंकहरूलाई सिसिटिभी क्यामेरा विस्तारका लागि सहयोग गर्न आग्रह गरिएको थियो।

महानगरपालिकाको पहल, सेफरवीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा सङ्कलित रकमबाट वीरगन्जका विभिन्न स्थानमा थप नयाँ सिसिटिभी क्यामेरा जडान गरिने नगरप्रमुख सिंहले बताए। उनले भने, “यो अभियानले वीरगन्जलाई सुरक्षित र व्यवस्थित शहर बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसिटिभी क्यामेराको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले महानगरका हरेक चोक र सडकमा क्यामेरा सञ्जाल विस्तार गर्न आवश्यक रहेको औंल्याउँदै सहयोग गर्ने बैंकहरूलाई धन्यवाद दिए। “यो कार्यमा सबै सरोकारवालाहरूको सहयोग अपरिहार्य छ,” उनले भने।

बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यका अनुसार १६ वटा बैंकले सहयोग प्रदान गरेका छन् भने बाँकी बैंकहरूबाट पनि चाँडै सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। सबैभन्दा बढी नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ।

सोमबार आयोजित एक कार्यक्रममा बैंकहरूले प्रदान गरेको सहयोग रकम नगरप्रमुख सिंहको रोहवरमा सेफर वीरगन्जलाई हस्तान्तरण गरिएको छ। यो सहयोगले वीरगञ्जको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस