२०८२ श्रावण ३० गते, शुक्रबार ११:२५

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाले शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत पान, गुट्का र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा कडाइ गर्ने निर्णय गरेको छ। महानगरपालिका र पान व्यवसायी संघबीच भएको छलफलमा विद्यालय र अस्पताल वरपर यस्ता पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने सहमति भएको छ।

छलफलमा पान पसलहरूमा अनिवार्य डस्टबिन राख्ने, जथाभावी थुक्न र फोहोर गर्न नदिने, र खुल्ला रूपमा सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने विषयमा व्यवसायीहरू सहमत भएका छन्। यसका साथै, सार्वजनिक स्थानमा थुक्ने र फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न व्यवसायी संघले सचेतनामूलक र्‍याली आयोजना गर्ने र नागरिकमा जागरूकता फैलाउने प्रतिबद्धता जनाएको छ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने, “हामी वीरगन्जलाई स्वच्छ, सफा र मर्यादित शहर बनाउन प्रतिबद्ध छौं। यो सहमति त्यस दिशामा महत्वपूर्ण कदम हो।” उनले थपे, “नागरिकको स्वास्थ्य र शहरको सुन्दरताका लागि यो पहलले ठूलो योगदान पुर्‍याउनेछ।”

पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका, अस्पतालमा उपचाररत बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै अनुशासित बिक्री प्रणाली लागू गर्न आफूहरू तयार रहेको बताए। व्यवसायीहरूले महानगरपालिकामा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बजार अनुगमनलाई तीव्र बनाउने र नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गर्ने योजना रहेको जानकारी दिए। “हामी नागरिकमा चेतना फैलाउन र सफाइ अभियानलाई प्रभावकारी बनाउन निरन्तर लाग्नेछौं,” उनले भने।

यो सहमतिले वीरगन्जको सफाइ अभियानमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यो पहलको स्वागत गर्दै शहरलाई सफा राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस