काठमाडौं-
पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँहरूले यस्तो बताउनुभएको हो । बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले ९० को दशकमा उदार अर्थतन्त्रले भएका विकास र प्रगतिलाई आत्मसात गर्नुपर्ने बताउँदै देखिएका विकृतिलाई आगामी बजेटमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा अभ्यास गरिएका उदार अर्थनीति र बजार अर्थतन्त्रकै वरपरबाट अहिलेका आवश्यकताहरू पूरा गर्न नसक्ने निष्कर्षका साथ तीन खम्बे अर्थनीति अपनाएको बताउँदै अहिलेको समयमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्ने जिकिर गर्नुभयो ।
उहाँले कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेट जनताको भरोसा जित्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रलाई गतिशील बनाउनको लागि अध्यादेशमार्फत केही कानुनहरूको संशोधन गरेको भन्दै त्यसले मात्रै पर्याप्त नहुने जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्रको आत्मबल बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । पूर्वअर्थमन्त्री कार्कीले अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न नसके जतिसुकै राम्रो बजेट ल्याएपनि कार्यान्वयनयोग्य नहुने बताउँदै सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्ने धारणा राख्नुभयो ।