काठमाडौं-
नेपाली काँग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट ल्याउन सुझाव दिनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भएपनि त्यसलाई सम्पन्न गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भयो ।
उहाँले ५० करोड बराबरका परियोजनाहरू डिपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको बताउनु भयो । उहाँले यस्तो प्रवृत्ति नरोकिए निर्माण रोकिएका परियोजना सम्पन्न हुने टाढाको कुरा रहेको बताउँदै छुटाइएको बजेट पनि सदुपयोग नहुने जिकिर गर्नुभयो । उहाँले वर्तमान परिस्थिति र राजश्व उठ्ने परिस्थिति र खर्च गर्ने क्षमतालाई नहेरी नयाँ परियोजनाहरू नराख्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।