बुटवल–
भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बिहीबार बिहान नेपाल ल्याइएको छ। रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले दिएको जानकारी अनुसार, सुदीपको शव भारतको नयाँ दिल्लीबाट हवाई मार्ग हुँदै लखनउ र त्यहाँबाट बेलहिया नाका हुँदै सडक मार्गबाट बुटवल ल्याइएको हो।
प्रहरी उपरीक्षक राठौरले भने, ‘आज बिहान सुदिपको डेथ बडी बेलहिया नाका आइपुग्यो। अब यहाँबाट हामीले बुटवल घरसम्म पुर्याइदिन्छौं।’

बुटवल उपमहानगरपालिका– १४ का वडाध्यक्ष समेत रहेका सुदिपका काका दधिराम न्यौपानेले सुदिपको शव बेलहियाबाट बुटवल–११ म्नकामना पथस्थित सुदिपको आफ्नै घरमा लगिने जानकारी दिए। पारिवारिक स्रोतका अनुसार आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
२७ वर्षीय सुदिप आफ्नी आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको वैसरण उपत्यकामा हिउँ खेल्न र घुम्न गएका थिए। घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर सुदिपको हत्या गरेका थिए।
उक्त आतंकवादी हमलामा सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए। भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी छिन्। सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आइपुगेका छन्। उक्त दर्दनाक आतंकवादी घटनामा कम्तीमा २६ जनाको ज्यान गएको थियो, जसमा दुई जना विदेशी नागरिक पनि थिए।
आमा–बुवाको सम्बन्ध विच्छेदपछि सुदिप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए। सुदीपको पुर्ख्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका–४ हो। शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा रहेका बेला छोराको अप्रिय खबर थाहा पाएका थिए। सुदिपको निधनले बुटवल क्षेत्र शोकमा डुबेको छ।